दमौली (तनहुँ) । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
गत असोज ११ गते आएको बाढीले पुलको तनहुँ र नवलपुर दुवैतर्फको पहुँच सडकमा क्षति पुर्याएपछि यातायात सेवा ठप्प भएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण सम्पन्न भएको थियो भने तनहुँतर्फको सडक बुधबार मर्मत गरिएसँगै पुलबाट सवारीसाधन आवतजावत सुरु भएको हो ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाका अनुसार पुलको पहुँच सडक निर्माण सम्पन्न भएपछि बुधबारदेखि नै यातायात सञ्चालनमा आएको छ । तनहुँतर्फको पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय तनहुँले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गरेको हो ।
पुल सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायतका क्षेत्रमा आवतजावत गर्न सहज हुने भएको छ । साथै, स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।
करिब १२ वर्षअघि निर्माण गरिएको फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोरनजिक अवस्थित छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावतका लागि महत्त्वपूर्ण मानिने यस पुलको पहुँच सडक बाढीले बगाएपछि दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन प्रभावित भएका थिए ।
पुल पुनः सञ्चालनमा आएपछि विशेषगरी दसैँका बेला घरआवतजावत गर्ने नागरिकलाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष थापाले बताएका छन् ।




प्रतिक्रिया