करदाता उपहार कुपन: कात्तिक १ मा खोलिने


काठमाडौं । आन्तरिक राजस्व विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत आगामी लक्की ड्राको तयारी पूरा भएको छ।

विभागका अनुसार सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा खरिद-बिक्री गरिएका बिलका आधारमा कात्तिक १ गते उपहार कुपन खोलिने र विजेताहरूको घोषणा गरिने भएको छ।

उक्त अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले असोज ३१ गते शनिबारभित्र आफ्नो खरिद बिलको विवरण प्रणालीमा प्रविष्टि (एन्ट्री) गरी उपहार कुपन प्राप्त गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पुरस्कार दाबीका लागि खरिद बिल अनिवार्य हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरेको छ। साथै, सबै व्यवसायीहरूलाई पनि वस्तु तथा सेवा बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिजक जारी गर्न ताकेता गरिएको छ।

Skip This