तिब्बती भाषा पढाउन भारत लैजाँदै गरिएका २५ बालबालिका बनबासाबाट उद्धार


कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टबाट नेपाल फर्काइएको छ।

हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई रोकेर नेपाल फर्काएका हुन्।

फर्काइएका सबै बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्य र घटनाको पृष्ठभूमिबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार बालबालिकालाई तिब्बती भाषा अध्ययन गराउने उद्देश्यले देहरादुन लैजान लागिएको भनिए पनि उनीहरूलाई त्यहाँको कुन शैक्षिक संस्थामा अध्ययन गराउने तयारी गरिएको थियो भन्ने खुलेको छैन।

त्यसैगरी, बालबालिकालाई भारत लैजानुअघि अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषयसमेत स्पष्ट हुन सकेको छैन।

१० वर्षमुनिका २५ बालबालिकालाई एकैपटक भारत लैजान लागिएको घटनाले उनीहरूको सुरक्षासँगै यात्राको उद्देश्य र आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा प्रश्न उठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

Skip This