दमौली (तनहुँ), २९ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
हलगोरु पालनपोषण अनुदान वितरण कार्यक्रमअन्तर्गत कृषकलाई रु तीन लाख २२ हजार वितरण गरिएको वडाध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरुको महत्व अझै सान्दर्भिक रहेकाले हलगोरु पालनका लागि प्रोत्साहन गरिएको हो ।
खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
हलगोरु पालनपोषण गर्ने परम्परागत संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
बढ्दो लागत र पशुपालनमा देखिएका चुनौतीकाबीच उक्त सहयोगले कृषकलाई हलगोरु पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि संस्कृतिको निरन्तरता तथा कृषकको मनोबल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
वडाध्यक्ष गुरुङका अनुसार हलगोरु पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि जीवनशैलीसँग जोडिएको परम्परालाई जोगाउन सहयोग पुर्याउनेछ ।




प्रतिक्रिया