कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र ‘जर्मन सेफर्ड’ बाट जाँच सुरु गरेको छ। चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित जाँच सुरु गरेको हो।
सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार सशस्त्र प्रहरीले पाँचौँ केनाइन शाखाका रूपमा गड्डाचौकीमा युनिट स्थापना गरेको छ। सिग्देलले ‘मुलुकका चार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रको सुरक्षा पहरामा खटाएको’ बताएका छन्। उनले ‘अब पाँचौँ शाखाका रूपमा गड्डाचौकीमा केनाइन युनिट रहने’ जानकारी दिए।
सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले गड्डाचौकीमा पहिलो पटक तालिमप्राप्त कुकुर चेकजाँचमा खटाएको सिग्देलले बताएका छन्। सिग्देलका अनुसार ‘सशस्त्र प्रहरी बलको सुदूरपश्चिममा यो पहिलो शाखा हो।’ यसका साथै ‘यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा गरिएको’ उनले बताएका छन्।
सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा पाँच जनाको तालिमप्राप्त दक्ष जनशक्ति तथा तालिमप्राप्त दुई वटा कुकुरसहित केनाइन शाखा स्थापना गरेर कार्य प्रारम्भ गरिएको छ। जसमा ‘लेब्राडोर अल्फा’ नाम गरेकी पोथी कुकुर र ‘जर्मन सेफर्ड’ जातको ‘डेल्टा’ नाम गरेको भाले कुकुर रहेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक सिग्देलका अनुसार जर्मन सेफर्डले सीमामा हातहतियार र विष्फोटक पदार्थ चेकजाँच गर्नेछ भने लेब्राडोर अल्फाले लागूपदार्थ जाँच गर्नेछ। उनले सशस्त्र प्रहरी बलले कञ्चनपुरको सीमा क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएको जानकारी दिएका छन्।
शुक्रबार बिहान उद्घाटन गरिएको चेकजाँचको अनुगमनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायत उपस्थित थिए।




प्रतिक्रिया