युरोपका ६ देशमा फैलियो प्रदर्शन : ग्रिसमा संसद्‌अघि धर्ना,इटालीमा स्कुल कब्जा


काठमाडौं । बढ्दो महँगी, महँगो घरभाडा, बेरोजगारी र शिक्षामा अपर्याप्त सरकारी लगानीविरुद्ध युरोपका विभिन्न देशमा विद्यार्थी तथा युवाको आन्दोलन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा फैलिएको विरोध प्रदर्शनमा शिक्षा प्रणाली सुधारदेखि सस्तो आवासको व्यवस्था र सरकारको जवाफदेहितासम्मका माग उठाइएका छन्।

आन्दोलन शान्तिपूर्ण र्‍यालीदेखि विद्यालय कब्जा, संसद् भवनअगाडि धर्ना तथा प्रहरीसँगको झडपसम्म भएका छन्। केही स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटनासमेत भएका छन् भने सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पक्राउ गरेका छन्।

फ्रान्स : १४० सहरमा प्रदर्शन, पक्राउ पर्नेमा १ हजार ८००

फ्रान्समा विद्यालयको कमजोर भौतिक अवस्था, शिक्षक अभाव र बढ्दो जीवनयापन खर्चको विरोधमा अक्टोबर १७ मा देशका १४० सहरमा प्रदर्शन भएको छ। विद्यार्थी सङ्गठन, ट्रेड युनियन र विभिन्न क्षेत्रका कर्मचारीसमेत सहभागी प्रदर्शनमा करिब आठ लाख मानिस सडकमा उत्रिएको दाबी गरिएको छ।

पेरिस, मार्सेई र बोर्डोजस्ता सहरमा प्रदर्शनका क्रममा तोडफोड र लुटपाटका घटना भएका छन्। लिमोजमा १४३ वर्ष पुरानो ऐतिहासिक सिटी हलमा आगजनी भएको तथा विभिन्न स्थानमा सवारीसाधन जलाइएको छ।

अक्टोबर १८ सम्म करिब १ हजार ८०० जना पक्राउ परेको र ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी तथा दमकलकर्मी घाइते भएको दाबी गरिएको छ। हिंसात्मक घटनापछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसाको निन्दा गरेका छन्।

सरकारले शान्तिपूर्ण प्रदर्शनका बीच हिंसात्मक समूहले अराजक गतिविधि गरेको जनाएको छ। आन्दोलनले सार्वजनिक शिक्षाको अवस्था र बढ्दो महँगीलाई फ्रान्सको राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।

इटाली : विद्यालय कब्जा, राष्ट्रव्यापी हड्तालको तयारी

इटालीमा शिक्षामा सरकारी लगानी कम भएको, विद्यालयका भवन जीर्ण रहेको र पढाइको खर्च बढेको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्। रोम र ट्युरिनसहित विभिन्न सहरका विद्यालयमा विद्यार्थीले कब्जा जमाएको विवरण सार्वजनिक भएको छ।

अक्टोबर १६ मा हजारौँ विद्यार्थी रोममा शिक्षा मन्त्रालयतर्फ मार्च गर्दै पुगेका थिए। उनीहरूले शिक्षामन्त्री ज्युसेप्पे भाल्दिताराका निर्णयको विरोध गर्दै विद्यालयको अवस्था सुधार गर्न र शिक्षामा सरकारी खर्च बढाउन माग गरेका छन्।

यसअघिका प्रदर्शनमा प्रहरीसँग झडप र ढुङ्गामुढाका घटना भएका थिए। अहिले विद्यार्थी सङ्गठनले आफ्नो आन्दोलनमा कर्मचारी तथा अन्य पेसागत समूहलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छन्।

आन्दोलनकारीले अक्टोबर ३० मा राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन्। उनीहरूका प्रमुख मागमा विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक खर्च घटाउने, सस्तो छात्रावास उपलब्ध गराउने र शिक्षामा सार्वजनिक लगानी बढाउने विषय छन्।

स्पेन : महँगो घरभाडाले सडकमा उतार्‍यो नागरिक

स्पेनमा बढ्दो घरभाडा र आवासको अभावविरुद्धको आन्दोलनले व्यापकता पाएको छ। राजधानी म्याड्रिडको सोल चोकमा प्रदर्शनकारीले टेन्ट टाँगेर धर्ना दिएको विवरण छ। अन्य सहरमा पनि आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै र्‍याली निकालिएको छ।

भाडा बढेपछि ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएको घटनापछि आन्दोलन थप चर्किएको हाे। प्रदर्शनकारीले घरभाडा नियन्त्रण गर्न, भाडामा बस्ने व्यक्तिलाई मनपरी रूपमा निष्कासन गर्न रोक लगाउन र सस्तो सरकारी आवास निर्माण गर्न माग गरिरहेका छन्।

भाडामा बस्नेहरूको सङ्गठन र आवास अधिकारका लागि काम गर्ने समूहले आन्दोलनको नेतृत्व गरिरहेका छन्। उनीहरूका अनुसार आवासको बढ्दो मूल्यले न्यून तथा मध्यम आय भएका परिवार र युवालाई विशेष रूपमा प्रभावित पारेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले आवास सङ्कट समाधान गर्न कदम चाल्ने बताएको छ।

ग्रिस : संसद्अगाडि टेन्ट, विद्यार्थीलाई छात्रावासको माग

ग्रिसको राजधानी एथेन्समा विद्यार्थीले संसद् भवनअगाडि टेन्ट टाँगेर महँगो आवास र छात्रावासको अभावविरुद्ध प्रदर्शन गरेका छन्। उच्च भाडा, पढाइको खर्च र सीमित छात्रावास सुविधाका कारण विद्यार्थीलाई अध्ययन जारी राख्न कठिन भएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारी विद्यार्थी सङ्गठनका अनुसार करिब ९६ प्रतिशत विद्यार्थीले छात्रावास सुविधा पाउँदैनन्। पछिल्लो एक दशकमा कोठाको भाडा तीन गुणासम्म बढेको र केही साना कोठाको मासिक भाडा ६०० युरोसम्म पुगेको दाबी गरिएको छ।

विद्यार्थीले घरभाडाको सीमा तोक्न, सरकारी छात्रावास निर्माण गर्न, छात्रवृत्ति बढाउन र विश्वविद्यालयको बजेट वृद्धि गर्न माग गरेका छन्।

यो आन्दोलनले उच्च शिक्षामा भर्ना पाउनु मात्र पर्याप्त नहुने, आवास र दैनिक खर्च धान्न सक्ने अवस्था पनि आवश्यक हुने प्रश्न उठाएको छ। आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि छात्रावासको अभावले शिक्षामा पहुँच सीमित गर्न सक्ने उनीहरूको तर्क छ।

बेल्जियम : शिक्षा बजेट कटौतीविरुद्ध प्रदर्शन, १५० पक्राउ

बेल्जियमको राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौती र प्रस्तावित सुधारको विरोधमा विद्यार्थीले मार्च निकालेका छन्। प्रदर्शनका क्रममा केही सहभागीले तोडफोड गर्नुका साथै प्रहरीमाथि प्रहार गरेको छ।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। अक्टोबर १८ को विवरणअनुसार घटनामा १५० जना पक्राउ परेका छन् भने पाँच प्रहरी सामान्य घाइते भएका छन्।

विद्यार्थी सङ्गठनले शिक्षामा सरकारी लगानी घटाउने नीतिको विरोध गर्दै विद्यालय तथा विश्वविद्यालयको अवस्था सुधार गर्न माग गरेका छन्। सरकारले भने हिंसात्मक गतिविधिको निन्दा गर्दै सार्वजनिक सुरक्षा र कानुन व्यवस्था कायम राख्ने जनाएको छ।

अल्बानिया : बेरोजगारी र भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको राजीनामा माग

अल्बानियाको राजधानी तिरानामा विद्यार्थी तथा युवाले महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयको कमजोर भौतिक अवस्थाविरुद्ध प्रदर्शन गरेका छन्।

अक्टोबर १५ मा हजारौँ युवा शिक्षा मन्त्रालयबाहिर भेला भएर प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरेको छ। प्रदर्शनका क्रममा केही सहभागीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। सरकारी भवन तथा बैंकमा आगजनी भएको भएको छ।

पाँच दिनदेखि जारी आन्दोलनमा १६७ जना पक्राउ परेको र प्रहरी तथा प्रदर्शनकारी दुवैतर्फ घाइते भएको दाबी गरिएको छ। विद्यार्थी सङ्गठनबाहेक सरकारप्रति असन्तुष्ट अन्य नागरिकसमेत आन्दोलनमा सहभागी भएको बताइएको छ।

प्रधानमन्त्री रामाले राजीनामा दिन अस्वीकार गर्दै विद्यार्थीहरूसँग वार्ता गर्ने प्रस्ताव गरेका छन्। उनले तोडफोड र हिंसामा संलग्न व्यक्तिमाथि कारबाही गरिने पनि बताएका छन्।

Skip This