हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार


काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उgको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्।

प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा सिलबन्दी खाम र राजाले पठाएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन्।

सन् २०२१ को सैनिक विद्रोहबाट सत्ताच्युत भएकी सुकीलाई पछि नजरबन्दमा सारिएको थियो । गत अप्रिलमा पूर्वसैनिक शासक मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिका रूपमा स्थापित भएको निर्वाचनमा उनको पार्टी सहभागी हुन पाएको थिएन।

सैनिक विद्रोहपछि म्यान्मामा गृहयुद्ध चर्किएको छ। द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको द्वन्द्व अनुगमन संस्था एसीएलइडीले जनाएको छ।

बेलायतले सुकीको हिरासतलाई ‘मनमानी नजरबन्द’ भन्दै उनलाई तत्काल र बिनासर्त रिहा गर्न माग गर्दै आएको छ। बेलायती विदेश कार्यालयले भने प्याकेज कूटनीतिज्ञमार्फत हस्तान्तरण गर्ने प्रयास भएको थियो वा त्यसका लागि अनुमति अस्वीकार गरिएको थियो भन्ने स्पष्ट पारेको छैन। रासस