काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना बनाइएको तर आफू अविचलित रूपमा अघि बढेको उल्लेख गरेकी हुन् ।
भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै हसिनाले भनिन्, ‘अहिले मैले निर्णय लिएकी छु, हो, मलाई थाहा छ। यदि म फर्किएँ भने ओर्लने बित्तिकै उनीहरूले मलाई मार्न सक्छन् वा मलाई पक्राउ गरेर यातना दिन सक्छन्।’
हसिनाको यो भनाइ डिसेम्बरसम्ममा आफ्नै बलमा स्वदेश फर्किने इच्छा व्यक्त गरेको केही सातापछि आएको हो। यद्यपि पछिल्लो संवादमा उनले फर्कने निश्चित समयसीमा भने खुलाएकी छैनन्।
सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा बंगलादेशको एक न्यायाधीकरण अदालतले मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेपछि अपदस्त नेतृ हसिनाको यस्तो अभिव्यक्ति आएको हो। अवामी लिग प्रमुख हसिनालाई हिंसात्मक प्रदर्शन दबाउने क्रममा सामूहिक हत्यामा उक्साएको र घातक बल प्रयोगको अनुमति दिएको आरोपमा अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो।
अमेरिकामा आयोजित पत्रकार सम्मेलनमा हसिनाका छोरा सजीव वाजेद जोय पनि उपस्थित थिए। तारिक रहमान नेतृत्वको बंगलादेश सरकारको आलोचना गर्दै जोयले हसिनाको बहिर्गमनपछि भएका गैरन्यायिक हत्या र अवामी लिगका नेताहरूलाई जेल हालेको घटनाको भर्त्सना गरे।
विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनपछि शक्तिबाट हटाइएकी हसिना अगस्ट २०२४ देखि भारतमा स्वैच्छिक निर्वासनमा छिन्। अमेरिकामा आधारित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूलाई शरण दिएकोमा भारत सरकारलाई धन्यवादसमेत दिइन्।
आफू देश छाड्न तयार नरहेको तर कसै गरी यहाँ आइपुगेको उल्लेख गर्दै हसिनाले भारत सरकार र यहाँका जनतालाई धन्यवाद दिएकी छन्। उनले आफ्नो विरुद्ध ६ सयभन्दा बढी मुद्दा दायर गरिए पनि अपराधका वास्तविक दोषीहरूलाई भने बंगलादेशको अन्तरिम सरकारले उन्मुक्ति दिएको आरोप लगाइन्।
बंगलादेशबाट भागेको दुई वर्षपछि शेख हसिनाले यसै वर्षको अगस्टमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाको कार्यक्रममा दिल्लीमा पहिलो पत्रकार सम्मेलन गरेकी थिइन्। उनले सन् २०२४ मा आफूलाई देशबाट जबर्जस्ती निकालिए पनि आफ्ना जनताबाट कहिल्यै अलग नभएको बताएकी थिइन्।
त्यस संवादका क्रममा हसिनालाई बंगलादेश फर्कने सम्भावित मितिबारे सोधिएकोमा उनले ‘समय आएपछि’ विवरण सार्वजनिक गर्ने बताएकी थिइन्। पछि हिन्दुस्तान टाइम्ससँगको पहिलो टेलिफोन अन्तर्वार्तामा हसिनाले बंगलादेशमा अवामी लिगका नेताहरूमाथि भएको उत्पीडन र यातनाको आरोप लगाएकी थिइन्।
सेप्टेम्बरमा भएको सो अन्तर्वार्ताका क्रममा उनले डिसेम्बरसम्म फर्कने इच्छा दोहोर्यााउँदै भनेकी थिइन्, ‘बंगलादेशको राजनीतिक सङ्कटलाई अनिश्चितकालसम्म रहन दिन सकिँदैन, त्यसैले मैले डिसेम्बरसम्म फर्कने इच्छा व्यक्त गरेकी हुँ। म उपयुक्त समयमा निश्चित मिति, समय र प्रवेश बिन्दुको घोषणा गर्नेछु।’




प्रतिक्रिया