काठमाडौं । दशैँ नेपालीहरुकाे लागि महान चाडका रुपमा लिइन्छ । दशैँ परिवारसँग बसेर खुसी साट्ने, टीका लगाउने र आशीर्वाद लिने पर्व हो।
याे बेला घरघरमा मीठा परिकार पाक्छन्। आफन्त भेला हुन्छन्। बालबालिकादेखि वृद्धवृद्धासम्ममा चाडपर्वको रौनक छाउँछ। तर, यसपटककाे दशैँ सबैका लागि उस्तै खुसी लिएर आएकाे छैन । कसैको घरमा उत्सव चलिरहँदा कसैको भने घर नै छैन।
कसैका लागि दशैँ नयाँ लुगा र मीठो खानाको पर्व बन्दा कसैका लागि एक छाक जुटाउने चिन्ता बनेको छ। यस्तै पीडामा छन् बाढीले घरबार गुमाएका परिवार र विस्थापित बनेका सुकुमवासीहरू। गत भदौ १० गतेको बाढीले घर र सम्पत्ति गुमाएका परिवारका लागि यसपालिको दशैँ खुसीभन्दा बढी पीडाको समय बनेको छ। घर छैन, सम्पत्ति छैन। कतिपय परिवार अरूको घरमा भाडा तिरेर बस्न बाध्य छन्। कसैलाई चाडपर्व कसरी मनाउने भन्ने चिन्ता छ भने कसैलाई भविष्य कसरी अघि बढाउने भन्ने।
यही पीडामा रहेका नागरिकको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला दशैँको समयमा पनि प्रभावित बस्तीहरूमा पुगिरहेका छन्। परिवारसँग बसेर चाडपर्व मनाउने समयलाई उनले पीडितका समस्या सुन्न, उनीहरूको अवस्था बुझ्न र सक्दो सहयोग गर्न खर्चिएका छन्।
धमला धादिङ, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगे। पीडितसँग प्रत्यक्ष अन्तरक्रिया गरे। उनीहरूले दशैँ कसरी मनाउँदै छन् भन्ने बुझे। सरकारले घोषणा गरेको राहत पाए–नपाएको जानकारी लिए। उनीहरूका दुःख सुनेर तत्काल गर्न सकिने सहयोग गरे भने पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि जनाए।
धादिङको गल्छी गाउँपालिका–६ मा पुग्दा धमलाले बाढीले घरबार गुमाएका करिब ५० देखि ६० परिवारसँग अन्तरक्रिया गरेका थिए। दशैँ नजिकिए पनि पीडित परिवारमा चाडपर्वको रौनक थिएन। घर नै बगाएपछि दशैँ कसरी मनाउने भन्ने चिन्ता उनीहरूको थियो। धमला बस्तीमा पुगेपछि पीडितहरूले आफ्नो पीडा सुनाए। दुःखका बेला आफूहरूलाई सम्झेर आएको भन्दै खुसीसमेत व्यक्त गरे।
त्यही क्रममा ६५ वर्षीया एकल महिला नानी कान्छी श्रेष्ठले पनि आफ्नो दुःख सुनाइन्। बाढीले उनको घरसहित सबै सम्पत्ति बगाएको थियो। अरूको केही न केही बाँकी रहे पनि उनको भने सबै गुमेको थियो। घरबारविहीन बनेकी श्रेष्ठले रुँदै आफ्नो अवस्था सुनाएपछि धमलाले उनको घर बनाइदिने घोषणा गरे।
दशैँ मनाउन नगद सहयोगसमेत गरेपछि श्रेष्ठ भावुक बनिन्। उनले धमलालाई ‘भगवान्को रूपमा धमला सर आइपुग्नुभयो’ भन्दै धन्यवाद व्यक्त गरिन्।
धादिङमा पीडितका समस्या सुनेर फर्किएका धमला नुवाकोटको विदुर नगरपालिका पनि पुगे। त्यहाँका बाढीपीडितसँग अन्तरक्रिया गर्दै उनले उनीहरूको अवस्था बुझे। सरकारले घोषणा गरेको राहत प्याकेज सबैले नपाएको, घरबार गुमाएपछि अरूको घरमा भाडा तिरेर बस्नुपरेको र तत्काल बसोबासको व्यवस्था आवश्यक रहेको गुनासो पीडितले गरेका थिए।
धमलाले पीडितलाई दशैँ मनाउन एउटा खसी दिए। अन्य खाद्यान्न सामग्री पनि पठाउने प्रतिबद्धता जनाए। ‘जनताहरूले दशैँ मनाउन पाएका छैनन्। जनताहरू पीडामा छन्,’ उनले भनेका थिए, ‘म सधैँ जनताको साथमा छु। म जनताकै लागि काम गरिरहेको छु।’
नुवाकोटमा भेटिएका मदन श्रेष्ठको पीडा झन् फरक थियो। गत भदौ १० गतेको बाढीले उनको घरपरिवार र सम्पत्ति सबै बगाएको थियो। उनको कोही आफन्तसमेत छैनन्। बाढीपछि एक्लिएका श्रेष्ठले आफूले राहतसमेत नपाएको गुनासो गरेका थिए। पीडितको अवस्था बुझ्न पुगेका धमलासँग उनले आफ्नो दुःख सुनाएका थिए। त्यसपछि धमलाले उनलाई दशैँ मनाउन १० हजार रुपैयाँ सहयोग गरे। सहयोग पाएपछि श्रेष्ठ खुसी भए।
बाढीपीडितले राहत नपाएको विषयलाई धमलाले सम्बन्धित सरकारी निकायसम्म पनि पुर्याएका छन्। नुवाकोट र रसुवाका पीडितले सरकारले घोषणा गरेको ४५ हजार रुपैयाँको राहत प्याकेज सबैले नपाएको गुनासो गरेपछि उनले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसँग भेट गरी समस्या राखेका थिए।
उनले नुवाकोट र रसुवाका बाढीपीडितसँग अन्तरक्रिया गरी दशैँ मनाउने अवस्था र सरकारको राहत कार्यक्रमबारे जानकारी लिएका थिए। पीडितको पुनर्बास तथा पुनर्निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र सरकारसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
धमलाको सहयोग बाढीपीडितमा मात्रै सीमित रहेन। काठमाडौंको खरिपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा रहेका परिवारलाई पनि उनले दशैँ मनाउन ३७ हजार रुपैयाँ सहयोग गरेका छन्। सोमबार होल्डिङ सेन्टरमा पुगेका धमलाले त्यहाँ रहेका सुकुमवासीसँग अन्तरक्रिया गर्दै उनीहरूको अवस्था र दशैँ मनाउने तयारीबारे जानकारी लिएका थिए। त्यसक्रममा उनीहरूले सरकारले दिने भनेको २५ हजार रुपैयाँ राहत नपाएको गुनासो गरेका थिए। विस्थापित अवस्थामा रहेका परिवारको चाडपर्वसम्बन्धी चिन्ता सुनेपछि धमलाले दशैँ मनाउन ३७ हजार रुपैयाँ सहयोग गरेका हुन्।
पत्रकारितामार्फत आवाजविहीनहरूको आवाज बन्दै आएका ऋषि धमला अहिले दुःख, पीडा र समस्यामा परेकाहरूको सहारा बन्दै उनीहरूको सुखदुःखमा साथ दिइरहेका छन्।




प्रतिक्रिया