काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको उल्लेख गर्दै दुःखमा रहेका परिवारसँग खुसी बाँड्न सबैलाई आग्रह गरेका छन्। विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी समस्यामा परेका परिवारलाई पनि साथ दिनुपर्ने बताएका हुन्।
थापाले धेरै परिवार दुःख, पीडा र कठिनाइबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा उनीहरूको पीडा कम गर्न सकेको सहयोग गर्न र एकअर्काको सहारा बन्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले चाडपर्वको खुसी अरूसँग बाँड्दा र दुःखमा परेकालाई सहयोग गर्दा सामाजिक सम्बन्ध अझ आत्मीय बन्ने विश्वास व्यक्त गरेका छन्।
सभापति थापाले विजयादशमीले आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदनशीलता र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने बताएका छन्। उनले यस पर्वलाई आपसी सहयोग, माया र सद्भाव अभिवृद्धि गर्दै विपत्तिमा परेका परिवारलाई साथ दिने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएका छन्।




प्रतिक्रिया