काठमाडाैँ। प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रतिवादीहरूबाट कूल १२ वर्ष ६ महिना आठ दिन कैद र रु १६ लाख ६६ हजार ९७२ बिगो असुलउपर भएको उनको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ । गत भदौ महिनामा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । कार्यालयले गत महिना चालु मुद्दामा ११२ जनालाई पक्राउ गरिएको जनाएको छ।
असोजमा अपराधसँग सम्बन्धित १५९ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका सात, आर्थिक अपराधका २४ र अन्य अपराधसँग सम्बन्धित १०३ मुद्दा दर्ता भएका छन् । सोही अवधिमा सामाजिक हिंसाका ६९ वडा ठाडो उजुरी परेको प्रहरीले जनाइएको छ।




प्रतिक्रिया