फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित


काठमाडाैँ। फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ। हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन्।

फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताए। उनका अनुसार पर्यटकहरू होटलमा बसेर रमाइलो गर्न आउँछन्, हिंसाका कारण होटलभित्रै सीमित हुन होइन।

प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र सडकमा हिंसात्मक गतिविधिका दृश्यले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा व्यापक स्थान पाएका छन्। यसले सामाजिक सञ्जालमा फ्रान्सको आकर्षक पर्यटन छविलाई समेत प्रभावित गरेको छ। कतिपय पर्यटकले पेरिस सुरक्षित छ कि छैन भन्ने प्रश्न उठाएका छन् भने केहीले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन्।

परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार, पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढ्न थालेको छ। उनका अनुसार पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको छ। यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल तुलनामा यो तत्काल ठुलो गिरावट होइन । तर, हिंसा बारम्बार दोहोरिएमा प्रभाव गम्भीर हुन सक्ने उनले बताए।

फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ। विशेषगरी लामो दूरीबाट आउने पर्यटकले बढी खर्च गर्ने भएकाले उनीहरूको सङ्ख्या घट्दा पर्यटन राजस्वमा समेत असर पर्न सक्छ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ। ट्राभल एजेन्सी समूह ‘सेलेक्टुर’का कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार, हिंसा दुई सातामै नियन्त्रणमा आए ठुलो क्षति नहुन सक्छ। तर, महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रका लागि विनाशकारी हुन सक्छ।

होटलसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार, पेरिसका होटलले आगामी छ साताका लागि सम्भावित बुकिङ गुमाएका छन्। अक्टोबर १९ र २० बिच गरिएको विश्लेषणमा अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि बुकिङको अनुपात अघिल्लो वर्षको तुलनामा रहेको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शुन्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो। अक्टोबर २० देखि २५ सम्मको बसाइमा पनि यस्तो अग्रता तीन दशमलव पाँच बाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो।

संस्थाका अनुसार, निकट भविष्यका बसाइ र महँगा होटलमा यसको प्रभाव बढी देखिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार, आगामी हप्तामा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ।