भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् । दसैँको टीका–जमरा र खानपिन सकिएलगत्तै धान भित्र्याउने चटारो सुरु हुने किसान बताउँछन् ।
भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काका अनुसार दसैँ मनाइसकेपछि किसान धान काट्ने र थन्क्याउने काममा जुट्नेछन् ।
कात्तिक महिनाको सुरुवातसँगै पहाडी भेगको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान पाकेर पहेँलपुर बनेपछि भोजपुरको ग्रामीण वातावरण रमणीय बनेको छ । यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा किसानले गरेका छन् ।
भोजपुर नगरपालिका–५ का स्थानीय किसान भीमसेन फुयालले पहेँलै बनेको धानले गाउँघर र डाँडापाखाको सौन्दर्य बढाएको बताए । चाडपर्व सकिएलगत्तै खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र भण्डारण गर्ने चटारो सुरु हुने उनको भनाइ छ ।
चाडपर्वपछि गाउँमा परम्परागत रूपमा चल्दै आएको ‘अर्मपर्म’ प्रथामार्फत धान भित्र्याउने काम गरिने फुयालले बताए । मेसिनरी औजारको पहुँच सहज नभएका भिराला खेतमा परिवारका सदस्य र छिमेकी मिलेर धान काट्ने तथा भित्र्याउने चलन छ ।
वर्षभरिका लागि आवश्यक मुख्य खाद्यान्न बाली राम्रोसँग घर भित्र्याउन पाए ढुक्क हुने किसान फुयाल बताउँछन् । दसैँको रमझमपछि भोजपुरका किसानलाई अब खेतमा पाकेको धान भित्र्याउने चटारोले छोप्नेछ ।




प्रतिक्रिया