काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातका कारण हुनसक्ने सम्भावित जोखिम र क्षतिलाई ध्यानमा राख्दै भारतका ओडिशा र आन्ध्र प्रदेश सरकारले पूर्वतयारी तथा उच्च सतर्कता अपनाएका छन्।
भारतीय मौसम विभागका अनुसार अक्टोबर २६ को बिहानसम्म पश्चिम-मध्य बंगालको खाडीमा चक्रवाती आँधी विकसित हुने अनुमान गरिएको छ। उक्त आँधी तीव्र गतिमा अघि बढ्दै अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने प्रक्षेपण गरिएको छ।
चक्रवात तटीय क्षेत्रमा ठोकिँदा दुवै राज्यका विभिन्न जिल्लाहरूमा भीषण र निरन्तर वर्षा हुनसक्ने चेतावनी मौसम विभागले जारी गरेको छ।
सम्भावित जोखिम र जनधनको क्षति रोक्न ओडिशा सरकारले आफ्ना सबै प्रशासनिक तथा आपत्कालीन विभागहरूलाई उच्च सतर्क अवस्थामा राखेको छ। आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्न निर्देशन दिँदै सरकारले चक्रवातका कारण हुने मानवीय क्षतिलाई शून्यमा झार्ने प्राथमिकता र लक्ष्य निर्धारण गरेको छ।
यसैबीच, भारतको तमिलनाडु क्षेत्रमा उत्तरपूर्वी मनसुन थप सक्रिय भएको छ। पछिल्लो २४ घण्टामा तमिलनाडुका बहुसंख्यक भू-भागमा हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ।




प्रतिक्रिया