एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।

त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने जानकारी उनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएकी हुन्।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको सफलताको कामना गरेका छन्। उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्।

उनले एनपीएल केही वर्षमै ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेका छन्।

प्रतियोगिताको पहिलो खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। निर्धारित तालिकाअनुसार यी दुई टोलीबीचको प्रतिस्पर्धा आज अपराह्न ४ः३० बजे सुरु हुनेछ।

तेस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका खेलहरू हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।