नेपाल प्रिमियर लिगले शिथिल अर्थतन्त्रमा उत्साह थपेको छ : ऋषि धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको शिथिल बनेको अर्थतन्त्रमा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले एनपीएलका कारण विश्वभरका क्रिकेटप्रेमी तथा खेलाडीको ध्यान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानतर्फ मोडिएको उल्लेख गरे । प्रतियोगितामा सहभागी सम्पूर्ण टिम तथा खेलाडीहरूलाई बधाई दिँदै उनले नेपाली क्रिकेटको इतिहासमा यो एउटा महामेला साबित भएको दाबी गरे ।

“नेपाली खेलाडीहरू अत्यन्त सक्षम, कुशल र सफल छन् । उनीहरूको खेलको चौतर्फी प्रशंसा भइरहेको छ, जुन सम्पूर्ण नेपाल र नेपालीका लागि ठूलो मान अनि गौरवको विषय हो,” धमलाले भने, ” नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मैदानमा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै गएको छ ।” उनले राज्य तथा नागरिक स्तरबाट खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धमलाले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे पनि चर्चा गरे । सरकार यतिबेला प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुटेको भन्दै उनले यो भ्रमणमार्फत नेपाल र भारतबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाश स्नेही, नेकपा एमालेका नेता माधव ढुङ्गेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीलगायतले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।