अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे रवि र बालेनले धारणा सार्वजनिक गर्नुपर्छ : प्रकाश ‘स्नेही’


काठमाडौँ । नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सह-महामन्त्री स्नेहीले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले आम नेपालीको शिर निहुरिने काम गरेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

“अर्थमन्त्री वाग्लेले भारतमा आम नेपालीको शिर निहुरिने गरी बोल्नुभयो, त्यो गम्भीर आपत्तिको विषय हो,” स्नेहीले भने, “यस विषयमा रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको आधिकारिक धारणा के हो ? उहाँहरूले तत्काल जनतासामु आफ्ना धारणा स्पष्ट पार्नुपर्छ ।”

उनले भारतसँगको रोटीबेटीको सम्बन्धलाई निरन्तरता दिन चाहे पनि राष्ट्रिय स्वाभिमानमा सम्झौता गर्न नसकिने स्पष्ट पारे । “हामी भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौँ, तर राष्ट्रिय हितका विषयमा कसै सामु आत्मसमर्पण गर्न सकिँदैन,” उनले थपे, “सीमासम्बन्धी विवादहरू कूटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्छ ।”

सह-महामन्त्री स्नेहीले जेनजी आन्दोलनको उथलपुथलपछि बनेको रास्वपाको दुई तिहाइ निकटको सरकारले जनताका मुख्य मुद्दा र आफ्नै सिद्धान्तलाई तिलाञ्जली दिएको आरोप लगाए । सरकारले जनअपेक्षाअनुसार काम गर्नुको साटो जनतामाथि विभिन्न शीर्षकमा करको भार बढाएको र बिजुलीमा समेत कर थोपरेको उनको भनाइ थियो ।

विदेशमा रहेका युवालाई स्वदेश फर्काउने र रोजगारी सिर्जना गर्ने बाचा गरेर सत्तामा पुगेको सरकारले सो दिशामा कुनै काम गर्न नसकेको स्नेहीको दाबी छ । “विदेशबाट युवा फर्काउने ठूला कुरा गरिए पनि अहिलेसम्म कसैलाई फर्काउन सकिएको छैन,” उनले भने, “अहिले बजारमा ग्यासको लाइन छ, जनताले सास्ती भोगिरहेका छन् । सरकार सुकुम्बासी समस्या समाधान र मूल्यवृद्धि न्यूनीकरणमा अलिकति पनि गम्भीर देखिएको छैन ।”

संसदीय मर्यादा र व्यवस्थाप्रति सरकार गैरजिम्मेवार बनेको टिप्पणी गर्दै उनले भने, “प्रधानमन्त्री बालेन संसद्मा गएर गम्भीरतापूर्वक जवाफ दिनुहुन्न । कतै संसदीय व्यवस्थाभन्दा बाहिर गएर यो सरकारले वर्तमान व्यवस्था नै समाप्त पार्न खोजेको त होइन ?”

सुनसरीको देवानगञ्जमा फैलिएको साम्प्रदायिक दंगा नियन्त्रण गर्न कांग्रेस सभापति गगन थापाले परिपक्व भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले बालेन सरकार संविधान र जनताप्रति पूर्णरूपमा उत्तरदायी हुन नसकेको बताए । सरकार लगातार गलत बाटोमा हिँडिरहे कांग्रेसले सशक्त खबरदारी गर्ने चेतावनीसमेत स्नेहीले दिए ।