काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव सुरु भएसँगै आगामी केही दिनमा मौसममा उल्लेख्य फेरबदल आउने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार विशेषगरी कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका अधिकांश भू-भागमा वर्षा, मेघगर्जन तथा हिमपातको सम्भावना औंल्याइएको छ। पाक्न लागेको धानबाली भित्र्याउने बेलाको यो मौसम परिवर्तनले कृषक वर्गमा चिन्ता थपेको छ भने सरोकारवाला निकायहरूलाई पूर्वतयारीका लागि सचेत गराएको छ।
मौसमको हालको स्थिति र क्रमिक बदलाव
हाल देशका हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहे पनि तराई, उपत्यका तथा खाँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्न थालेको छ। मंगलबार (कोशी, मधेश र बागमतीमा आंशिक बदली) र बुधबारसम्म मौसम सामान्य रहने देखिए पनि बिहीबार (कात्तिक १२) बाट भने प्रणालीमा व्यापक सक्रियता आउने देखिन्छ।
बिहीबार रातिबाटै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागमा भारी वर्षा र हिमपात तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार र शनिबार मौसम थप प्रतिकूल बन्ने
महाशाखाका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार देशैभर अधिकांश बादली छाउनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको यो क्रम जारी रहनेछ। यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ‘धेरै भारी’ वर्षा र हिमपातको समेत पूर्वानुमान गरिएको छ।
कृषक र पर्यटकका लागि विशेष सतर्कता तथा परामर्श
कात्तिक १२ देखि १४ गतेसम्मको मौसमी प्रणालीलाई मध्यनजर गर्दै महाशाखाले विशेष परामर्श जारी गरेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले धानबाली भित्र्याउने लगायतका महत्त्वपूर्ण कृषि कार्यहरू बिहीबारअगावै सम्पन्न गरिसक्न कृषकहरूलाई विशेष अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र पहिरोको जोखिम उच्च रहेकोले पर्यटकलाई उक्त समयमा उच्च हिमाली भू-भागमा नजान र गएकाहरूलाई पनि सुरक्षित स्थानमा रहन सचेत गराइएको छ।
मौसममा हुने यो अचानकको फेरबदलले चिसो हवाहुरी बढाउने, सडक छेउछाउ पहिरोको जोखिम निम्त्याउने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूप्रति महाशाखाले आग्रह गरेको छ।





प्रतिक्रिया