दुबईमा विश्वकै पहिलो २४ क्यारेट सुनको पैदलमार्ग बन्दै


दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सन् २०२६ को अन्त्यसम्म विश्वकै पहिलो तथा सबैभन्दा लामो २४ क्यारेट सुनको पैदलमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

दुबई गोल्ड डिस्ट्रिक्टमा निर्माण हुने उक्त आकर्षण आगामी दुई महिनाभित्र खुल्ने अपेक्षा गरिएको छ । दुबई गोल्ड डिस्ट्रिक्टका वाणिज्य क्षेत्रका वरिष्ठ निर्देशक राशिद अल हरमूदीका अनुसार यसले सुनको व्यापार, गहना बजार र पर्यटनलाई एकै ठाउँमा जोड्नेछ ।

दुबईको देइरामा रहेको गोल्ड डिस्ट्रिक्ट सन् २०२६ को जनवरीमा सुरु गरिएको हो । यहाँ सुन, गरगहना, बहुमूल्य धातु, अत्तर, सौन्दर्य सामग्री तथा विलासी वस्तुका एक हजारभन्दा बढी खुद्रा व्यवसाय सञ्चालनमा छन् ।

जिल्लामा सुनको थोक कारोबार गर्ने कार्यालयको संख्या सन् २०२६ को सुरुदेखि २० प्रतिशतले बढेको छ भने सुन, गरगहना, बहुमूल्य पत्थर र विलासी घडीका नयाँ पसल १५ प्रतिशतले वृद्धि भएका छन् ।

यसैबीच, दुबईमा १६.५१४ किलोग्राम तौलका २२ क्यारेट सुनबाट बनाइएका भारतीय परम्परागत झुम्काले पनि गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् । जोयालुक्कास ज्वेलरीले निर्माण गरेका ‘मयुरा सहस्रा’ नामका ती झुम्का विश्वकै सबैभन्दा भारी र सबैभन्दा ठूलो जोडीका रूपमा दर्ता भएका हुन् । ती झुम्का बिक्रीमा नराखी सार्वजनिक प्रदर्शनमा राखिने बताइएको छ ।

२४ क्यारेट सुनको पैदलमार्गको लम्बाइ, निर्माण लागत र उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन । निर्धारित समयमै सञ्चालनमा आए यो दुबईको पर्यटन क्षेत्रको नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ ।