पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य


गण्डकी, ११ कात्तिक । पोलैपिच्छे गुजुल्टिएका र कतै लत्रिएका तार। सडक किनारमा अव्यवस्थित र जीर्ण पोल। एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच। केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र आसपासका बस्तीमा यस्तै दृश्य देखिन्थे। तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ।

अस्तव्यस्त विद्युत् पोल र तार हटाइएपछि सडक खुला देखिन थालेको छ। सहरको सौन्दर्य पनि फर्किएको छ। लत्रिएका र गुजुल्टिएका तारको जञ्जालबाट हिमाल नियाल्नुपर्ने बाध्यता हटेको छ। विद्युतसँगै टेलिफोन, केबल र इन्टरनेटका तारको व्यवस्थापन पनि अघि बढेको छ।

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघि विद्युतीय तार भूमिगत गर्न थालेपछि पोखराको मुख्य सहरी क्षेत्र तारको जञ्जालबाट मुक्त हुँदै गएको हो। पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार जमिनमुनि बिछ्याउने काम भइरहेको छ। आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हालसम्म १६५.७ किलोमिटर तार बिछ्याइसकिएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह समेत भइसकेको छ।

“पोखरामा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ, आउँदो वैशाखभित्र काम सक्ने लक्ष्य छ”, इन्जिनियर सुवेदीले भने, “६ हजार घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याइनेछ।”

पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेती पुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका ४०० भन्दा बढी घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुगिसकेको उनले जानकारी दिए। सेती पुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सकिएको उनको भनाइ छ।

लेकसाइडका भित्री सडकमा पनि तार बिछ्याइसकिएको छ। अब विद्युत् जोड्न मात्र बाँकी रहेको उनले बताए। अहिले सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा र सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडको तालबाराही मन्दिरतर्फ जोडिने सडकका केही खण्डमा तार बिछ्याउने काम भइरहेको छ।

“सेती पुल निर्माणाधीन अवस्थामा रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गराउन सकिएको छैन”, इन्जिनियर सुवेदीले भने, “पुलको काम अन्तिम चरणमा रहेकाले छिट्टै बाँकी ठाउँमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा पुग्छ।”

आयोजनाले मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार बिछ्याउने काम गरिरहेको छ। विद्युतका तारसँगै टेलिफोन, केबल र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबर समेत बिछ्याइएको छ।

“विद्युतसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गर्ने काम भइरहेको छ। पहिले रहेका ओभरहेड प्रणालीका सबै तार हटाइएको छ”, इन्जिनियर सुवेदीले भने।

आयोजनाले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँलाई प्राथमिकता दिएको हो। पोखरामा तार भूमिगत गर्न र वितरण प्रणाली सुदृढीकरण गर्न एक अर्ब ७० करोड रुपैयाँ खर्च हुने आयोजना कार्यालयले जनाएको छ। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक नखनी तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले बताए।

दुई वर्षमा काम सक्ने लक्ष्यसहित सन् २०२२ को जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको ठेक्का पाए पनि त्यसको १५ महिनापछि मात्र पोखरामा तार बिछ्याउने काम सुरु भएको थियो।

इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भएको उनले बताए। बीचमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको भौतिक प्रगति सुस्त भएको पनि उनले जानकारी दिए।

विद्युतीय तार भूमिगत गरेर जीर्ण पोल र तार हटाउँदा पोखराको स्वच्छ तथा हरियाली सौन्दर्यमा टेवा पुगेको छ। अव्यवस्थित र जीर्ण विद्युत् पोल तथा तारको व्यवस्थापनले दुर्घटनाको जोखिम समेत कम हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले बताए।

उनका अनुसार अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनामा मानिसको ज्यान जाने गरेको छ। सवारीसाधन पोलमा ठोक्किँदा र करेन्ट लाग्दा यस्ता दुर्घटना हुने गरेका छन्।

“अव्यवस्थित तार र पोल हटाउँदा विद्युतीय दुर्घटना मात्र होइन, सवारी दुर्घटनाको जोखिम पनि घट्छ”, उनले भने, “पोखरा सहरभरि नै विद्युतीय तार भूमिगत गर्न सकियो भने धेरै राम्रो हुने थियो।”

नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार पोखरा उपत्यकाभरका पुराना पोल र तार विस्थापन गर्न ठूलो बजेट आवश्यक पर्छ। चार दशकअघिको विद्युत् लाइन विस्थापन गरेर नयाँ लाइन राख्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ। प्राधिकरणले काठमाडौं, पोखरा र भरतपुर जस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरमा १५६.३३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरमा ९५ प्रतिशत काम सकिएको छ। पोखरा र भरतपुर दुवै सहरमा गरी आयोजनाको कुल भौतिक प्रगति ८८ प्रतिशत पुगेको उनले बताए।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो मानिन्छ। महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र विद्युतको चाप धान्न यो उपयुक्त रहेको इन्जिनियर सुवेदीले बताए। पोखरा उपत्यकाभर विद्युतीय तार जमिनमुनि बिछ्याउन पाँच अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने उनको भनाइ छ।

“यो महँगो परियोजना हो। एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन। प्रभाव र उपयोगिता हेरेर पोखराका अरू ठाउँमा पनि यो काम विस्तार हुन्छ”, उनले भने। प्राधिकरणले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा पोखरा र भरतपुरमा यो आयोजना सञ्चालन गरेको हो।