काठमाडौं । भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा अर्नब चक्रवातले ठूलो क्षति पुर्याएको छ । चक्रवातका कारण विभिन्न स्थानमा रुख जारासहित उखेलिएका छन् । धेरै विद्युत् खम्बा ढलेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ । अधिकारीहरूले चक्रवातको प्रभाव अझै दुई दिनसम्म रहन सक्ने बताएका छन् ।
बीबीसी तेलुगुका अनुसार बुधबार बिहान चक्रवात आन्ध्र प्रदेशको तटमा प्रवेश गर्नुअघि नै भारी वर्षा हुने अनुमान गरिएको थियो । भारतीय मौसम विभागका अनुसार यानमको दक्षिणतर्फ बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा चक्रवात प्रवेश गरेको हो । त्यसबेला चक्रवातको अधिकतम हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको बताइएको छ ।
चक्रवातका कारण कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार विद्युत् खम्बा ढलेको अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
आन्ध्र प्रदेशका ऊर्जामन्त्री गोट्टिपति रविकुमारले बीबीसी तेलुगुसँगको टेलिफोन कुराकानीमा चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास गरिने बताएका छन् ।
यसैबीच, यानम क्षेत्रमा भारी वर्षाका कारण विभिन्न स्थान जलमग्न भएका छन् । चक्रवात तटमा प्रवेश गर्नुअघि विशाखापट्टनममा समेत तीव्र हावा चलेको थियो । राज्यका विभिन्न क्षेत्रमा रुख र विद्युत् खम्बा ढलेको विवरण सार्वजनिक भएको छ ।
चक्रवातको प्रभावलाई ध्यानमा राख्दै दक्षिण मध्य रेलवेले आन्ध्र प्रदेश र ओडिशा हुँदै सञ्चालन हुने विभिन्न रेलसेवा रद्द गरिएको सम्बन्धमा अद्यावधिक सूचना जारी गरेको छ ।
प्रतिकूल मौसमका कारण प्रभावित क्षेत्रमा जनजीवन, यातायात र विद्युत् सेवामा असर परेको छ । अधिकारीहरूले चक्रवातको प्रभावलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइरहेका छन् । बीबीसीबाट




प्रतिक्रिया