सीमा सुरक्षा र अपराध नियन्त्रणबारे नेपाल–भारत सुरक्षा निकायबीच बैठक सुरु


काठमाडौं । सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ ।

बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ । बैठकमा सहभागी हुन भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका छन् । नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् ।

सीमा अपराध नियन्त्रण गर्नुका साथै दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय र सहकार्य थप सुदृढ गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन् । भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास तथा सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार तथा अवैध हातहतियार नियन्त्रणका लागि भएका प्रयासको समीक्षा गरिनेछ ।

त्यस्तै, सीमा व्यवस्थापनसम्बन्धी संयन्त्रको मार्गदर्शनअनुसार दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माणका विषयमा पनि छलफल हुनेछ । सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा त्यहाँ बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने विषयले समेत बैठकमा प्राथमिकता पाउनेछ ।

नेपाल–भारत खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमनलाई नियमन गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल हुनेछ । साथै, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग तथा दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य बढाउने विषयमा छलफल गरिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।