काठमाडौं । मलेसिया रोजगारीबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र तथ्यहीन सूचना फैलिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको र आपसी समझदारीमार्फत समस्या यथाशीघ्र समाधान गर्ने प्रयास भइरहेको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार नेपाली श्रमिकको दीर्घकालीन हित संरक्षण गर्दै नेपालको संविधान, प्रचलित कानुन, द्विपक्षीय सम्झौता तथा अन्तर्राष्ट्रिय कानुनअनुरूप भर्ना प्रणाली कायम गर्न सरकार प्रतिबद्ध छ।
नेपाल र मलेसिया दुवैलाई मान्य हुने पारदर्शी, निष्पक्ष र न्यायोचित भर्ती प्रणाली विकास गर्न सरकार सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा तथ्यहीन सूचनाले नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै वस्तुगत तथ्यका आधारमा सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ।




प्रतिक्रिया