एन्फा अध्यक्ष र महासचिव जनही पाँच लाख धरौटीमा रिहा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई धरौटीमा छुटेका छन् । उनीहरू ललितपुर जिल्ला अदालतले मागेको जनही पाँच लाख रुपैयाँ धरौटी बुझाएर बुधबार साँझ छुटेका छन् ।

उनीहरूको बयान र थुनछेक बहस सकिएपछि न्यायाधीश हरिसिंह धामीको इजलासले जनही पाँच/पाँच लाख रुपैयाँ धरौटी मागेको थियो । ललितपुर अदालतका स्रेस्तेदार भेषराज कोइरालाले नेम्बाङ र राई जनही पाँच लाख धरौटी रकम बुझाएर साँझ तारेखमा छुटेको जानकारी दिए ।

उनीहरूविरुद्ध खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा आधारमा अभियोगपत्र दायर भएको थियो । नेम्बाङ र राईसँगै एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

जोशी र पाण्डे भने पहिले नै धरौटी तारिखमा छुटिसकेका छन् । उनीहरू धरौटीमा छुटे पनि मुद्दामा फैसला हुन भने बाँकी छ ।