काठमाडौँ । मेची करिडोरअन्तर्गतको सडक स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय, इलामले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले बुधबार (२०८३ कात्तिक १२ गते) सार्वजनिक सूचना जारी गर्दै काठमाडौंस्थित खड्का कृष्ण–सक्षम जेभीसँगको सम्झौता अन्त्य गरिएको जनाएको हो।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्वपूर्ण मार्ग मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क (राँके) भञ्ज्याङ खण्डको स्तरोन्नति कार्य लामो समयदेखि पूरा हुन सकेको थिएन। निर्धारित समय र पटक–पटक थपिएको म्यादभित्र समेत निर्माणले अपेक्षित गति लिन नसकेपछि कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको हो।
सडक डिभिजन कार्यालयका अनुसार उक्त सडक खण्डको निर्माण सम्पन्न गर्न सुरुमा ३० महिनाको समय निर्धारण गरिएको थियो। निर्धारित अवधिमा काम पूरा नभएपछि थप ३३ महिना म्याद थपिएको थियो। यसरी कुल ६३ महिना अर्थात् पाँच वर्ष तीन महिना बितिसक्दा पनि आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशतमा सीमित रहेको कार्यालयले जनाएको छ।
निर्माण कार्यलाई गति दिन सम्बन्धित कम्पनीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता गरिएको भए पनि सम्झौताअनुसारको जिम्मेवारी पूरा हुन नसकेको कार्यालयको भनाइ छ। कम्पनीले विभिन्न समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धतासहित कार्यतालिका पेस गरे पनि त्यसअनुरूप काम अघि बढाउन सकेको थिएन।
निर्माण व्यवसायीकै कारण आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै कार्यालयले कात्तिक ११ गते ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौतामा उल्लिखित प्रावधानलाई आधार बनाएर सम्झौता रद्द गरिएको सूचनामा उल्लेख छ।
ठेक्का रद्द गरेसँगै कार्यालयले आर्थिक हिसाबकिताब मिलान तथा थप कानुनी प्रक्रिया अघि बढाएको छ। स्वीकार्य रूपमा सम्पन्न भएका कामको भुक्तानी र बाँकी वित्तीय दायित्वको फरफारकका लागि निर्माण कम्पनीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।
तोकिएको समयभित्र कम्पनी वा त्यसको आधिकारिक प्रतिनिधि उपस्थित नभएमा प्रचलित कानुनबमोजिम एकतर्फी मूल्यांकन गरी थप कारबाही अघि बढाइने कार्यालयले चेतावनी दिएको छ।





प्रतिक्रिया