अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तत्काल बर्खास्त गर्न जेन्जी अभियन्ताको माग


काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा वाग्लेले दिएको अभिव्यक्ति राष्ट्रिय हित र स्वाभिमानविपरीत भएको दाबी गर्दै सोडारीले यस्तो माग गरेका हुन्।


सोडारीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा वाग्लेले अक्टोबर २३ मा आयोजित कार्यक्रममा ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने समय सकिएको’ भन्ने अभिव्यक्ति दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त अभिव्यक्तिलाई उनले आत्मसमर्पणवादी र राष्ट्रिय हितविपरीत भएको आरोप लगाएका छन्।


नेपाल र भारतबीच विगतदेखि रहँदै आएका असमान सन्धि–सम्झौताको पुनरावलोकन, सीमा अतिक्रमण, पारवहन समस्या, व्यापार घाटा, नदी–नालामा हस्तक्षेप तथा सीमावर्ती क्षेत्रमा हुने डुबानजस्ता विषय नेपालको राष्ट्रिय हितसँग सम्बन्धित रहेको सोडारीको भनाइ छ।


यी विषयमा आवाज उठाउनु भारतविरोध नभई नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्नु भएको उल्लेख गर्दै उनले राष्ट्रिय हितका मुद्दालाई बेवास्ता गरेर भारतसँगको सम्बन्धलाई मात्र प्राथमिकता दिन नहुने बताएका छन्।


‘राष्ट्रिय हितमा अडान राख्नु भारतविरोध होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु प्रत्येक नेपालीको साझा दायित्व हो।’