दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र थापाको इजलासमा


काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा शुक्रबार भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुन लागेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका भट्टका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

यसअघि गत असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीका नाममा तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

सर्वोच्चले विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि वा म्याद नाघेपछि नियमानुसार पेस गर्न तथा दीपक भट्टविरुद्ध नेपाल सरकार पक्ष भएका अन्य विचाराधीन मुद्दासमेत अवलोकनका लागि साथै राख्न आदेश दिएको थियो।