१३ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारमाथि प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाएकाे छ ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले स्थापित कानुनी तथा संस्थागत प्रक्रियालाई बेवास्ता गरेर सञ्चारकर्मीमाथि कारबाही गर्नु उचित नभएको स्पष्ट पारेको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा समाचार सामग्रीप्रति कसैको असहमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको समाधानका लागि राज्यले निश्चित कानुनी प्रक्रिया र वैधानिक निकायको व्यवस्था गरेको उल्लेख छ।
‘सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो। यस्ता कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले कानुन कार्यान्वयनको नाममा स्वतन्त्र प्रेसलाई त्रसित बनाउने, सञ्चारगृहको प्रतिष्ठामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूको भूमिकालाई सीमित पार्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने जनाएको छ।
प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिको प्रहार भएको पार्टीको भनाइ छ। त्यस्तै, समाचारको स्रोत गोप्य राख्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्मसमेत रहेको विज्ञप्तिमा उल्लेख छ।
पत्रकारलाई नियन्त्रणमा लिइएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी वास्तविकता तत्काल सार्वजनिक गर्न रास्वपाले सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त रिहा गर्न पनि आग्रह गरेको छ।
कुनै पनि भय, त्रास वा अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठामा आधारित पत्रकारिता जारी राख्न सञ्चारकर्मीलाई आह्वान गर्दै रास्वपाले समग्र सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।




प्रतिक्रिया