काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएपछि प्रमुख राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले पत्रकारमाथिको प्रहरी धरपकडप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलले समाचारकै विषयलाई आधार बनाएर पत्रकार पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत हुने बताएका छन्।
नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै रास्वपा त्यसको पक्षमा रहेको उनको भनाइ छ।
त्यस्तै, दोस्रो ठूलो दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमा भइरहेको हस्तक्षेप र निगरानी तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक दायित्व भएको उनले उल्लेख गरेका छन्।
यसैगरी, तेस्रो ठूलो दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पक्राउ पुर्जीबिना नागरिकलाई नियन्त्रणमा लिनु सर्वसत्तावादी अभ्यास भएको बताएका छन्।
उनले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रण गर्न खोज्नु फासीवादको स्पष्ट संकेत भएको टिप्पणी गरेका छन्।
चौथो ठूलो दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले पनि सञ्चारमाध्यमका कार्यालयमा सादा पोशाकका प्रहरीले गरेको प्रवेश र धरपकडको निन्दा गरेका छन्। उनले यसलाई स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंकको संज्ञा दिएका छन्।
सरकार तथा सरकारी निकायका उच्च पदस्थ व्यक्तिका गतिविधि सार्वजनिक गरेकै कारण यस्तो अवस्था सिर्जना गरिएको भन्दै दुलालले तत्काल पक्राउ परेका पत्रकारलाई बिनासर्त रिहा गर्न र सञ्चारमाध्यममाथिको हस्तक्षेप रोक्न माग गरेका छन्।
शुक्रबार प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, अर्का पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न भन्दै प्रहरी टोली नयाँ पत्रिका दैनिकको कार्यालय पुगेको थियो।




प्रतिक्रिया