अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। रुसको बढ्दो हवाई आक्रमणबाट बच्न युक्रेनलाई अत्यावश्यक मानिएका यी क्षेप्यास्त्रको मूल्य २.१ अर्ब अमेरिकी डलर (करिब १.६ अर्ब पाउन्ड) रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, उन्नत पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको खरिदका लागि क्यानडा र युरोपेली सहयोगी राष्ट्रहरूले पूर्ण रूपमा आर्थिक सहयोग गर्नेछन्। यसमा अमेरिकाको कुनै सरकारी रकम खर्च हुने छैन। अमेरिकी कम्पनी लकहिड मार्टिनले क्षेप्यास्त्र निर्माण गर्नेछ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी निर्णयको स्वागत गर्दै युक्रेनलाई क्षेप्यास्त्र तत्काल आवश्यक रहेको बताएका छन्। तर, क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने उनको चेतावनी छ।
रुसले आगामी हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ। पछिल्लो दुई सातामा युक्रेनको विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनामा ३० भन्दा बढी रुसी आक्रमण भएको जेलेन्स्कीले बताएका छन्।
विश्वव्यापी रूपमा प्याट्रियट क्षेप्यास्त्रको अभाव रहेकाले युक्रेनलाई तत्काल आपूर्ति गर्न कठिन हुने बताइएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार, अमेरिकाले वार्षिक करिब ६०० वटा प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्छ।




प्रतिक्रिया