कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ मा स्थायी घर भएका २८ वर्षीय युवा प्रज्वल क्षेत्री यतिबेला मर्दी हिमाल पदमार्ग क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन्। सानै उमेरदेखि पर्यटन क्षेत्रमा जोडिएका क्षेत्रीले ट्रेकिङ गाइडका रूपमा आफ्नो यात्रा सुरु गरेका थिए। पर्यटकसँगै हिमाली पदमार्गको अनुभव बटुल्दै आएका उनी अहिले आफ्नै सानो होटल तथा क्याफे सञ्चालन गरिरहेका छन्।
तर क्षेत्रीको परिचय पर्यटन व्यवसायीमा मात्रै सीमित छैन। आफ्नो व्यवसायसँगै गाउँको सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक गतिविधिमा समेत उनी सक्रिय छन्।
मर्दी हिमाल क्षेत्रमा आउने पर्यटकलाई स्थानीयस्तरमै उत्पादित कृषि तथा खाद्य सामग्री खुवाउने वातावरण बनाउनुपर्ने उनको विशेष जोड छ। पर्यटकले उपभोग गर्ने तरकारी, फलफूल, दूध, मासु तथा अन्य आवश्यक खाद्य सामग्री स्थानीय किसानबाटै खरिद गर्ने व्यवस्था गर्न सके पर्यटनको आम्दानी गाउँमै रहने उनको धारणा छ।
उनका अनुसार पर्यटन व्यवसायलाई होटल सञ्चालक र पदमार्गमा काम गर्ने सीमित व्यक्तिहरूमा मात्र केन्द्रित नगरी किसान, पशुपालक, घरेलु उद्यमी, युवा तथा स्थानीय समुदायसम्म विस्तार गर्न आवश्यक छ। यसो गर्न सके गाउँका धेरै परिवार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पर्यटनसँग जोडिने र स्थानीय उत्पादनले बजार पाउनुका साथै गाउँको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको विश्वास छ।
पर्यटन व्यवसायसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय क्षेत्रीले युवा क्लब, टोल विकास समिति र शैक्षिक क्षेत्रलगायत विभिन्न सामाजिक फोरममा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्।
विशेषगरी स्थानीय जलविद्युत् आयोजनाले विगतमा गरेका सम्झौताअनुसार पूरा गर्नुपर्ने काम लामो समयसम्म अलपत्र रहेको विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका थिए।
उनकै सक्रिय पहल र खबरदारीपछि माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ र ९ जोड्ने कसीङ खोलामा मोटरेबल पुल निर्माणको काम अघि बढेको छ। त्यसैगरी श्री सरस्वती आधारभूत विद्यालयमा शिक्षक अनुदान तथा गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षक अनुदान उपलब्ध गराउने विषयमा समेत उनको सक्रिय भूमिका रहेको छ।
यतिबेला जलविद्युत् आयोजनामार्फत ल्वाङ घलेल स्वास्थ्य चौकीदेखि आख्लेतारासम्म सडक ग्रेडिङको कामसमेत अघि बढिरहेको छ। यी विकासका काममा भएको पहलप्रति स्थानीयवासीले क्षेत्रीलाई धन्यवाद व्यक्त गर्दै आएका छन्।
क्षेत्रीको अर्को परिचय राजनीतिक यात्रा पनि हो। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अहिले नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ को वडा सभापतिको जिम्मेवारीसम्म आइपुगेको छ।
२८ वर्षको उमेरमै व्यवसाय, सामाजिक सेवा र राजनीतिक जिम्मेवारीलाई सँगसँगै अघि बढाइरहेका क्षेत्री आफ्नो गाउँको विकासमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँछन्।

उनको सोच स्पष्ट छ— पर्यटनबाट आम्दानी गर्ने मात्र होइन, पर्यटनको लाभ गाउँका किसान, व्यवसायी र सर्वसाधारणसम्म पुर्याउनुपर्छ। गाउँको उत्पादनलाई बजारसँग जोड्नुपर्छ र स्थानीय स्रोतसाधनको उपयोगबाट गाउँमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्नुपर्छ।
मर्दी हिमालको पर्यटन सम्भावनालाई स्थानीय उत्पादन, कृषि र सामुदायिक सहभागितासँग जोडेर गाउँको आर्थिक विकास गर्ने सोचसहित अघि बढिरहेका प्रज्वल क्षेत्रीको यात्रा अहिले पर्यटन, समाजसेवा र राजनीतिक क्षेत्रलाई एकसाथ जोड्ने प्रयासका रूपमा देखिएको छ।
आफ्नो व्यवसायसँगै गाउँको हकहित, स्थानीय उत्पादन र समग्र विकासका विषयमा सक्रिय रहँदै आएका युवा प्रज्वल क्षेत्रीको यो यात्रा माछापुच्छ्रे–९ को वर्तमान र भविष्यसँग जोडिएको एउटा कथा हो।





प्रतिक्रिया