काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे सरकारसँग जवाफ मागेका छन्। पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना सकिएको नमानिने भन्दै उनले पक्राउको निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका हुन्।
शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार रिहा भइसके पनि घटनाको वास्तविकता सार्वजनिक हुनुपर्ने बताएका छन्।
‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन। यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने? यो मुख्य प्रश्नको जवाफ जरुरी छ,’ उनले लेखेका छन्।
केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गरिएको घटनाको स्मरण गराउँदै शर्माले त्यसका दोषी पहिचान गरी सार्वजनिक गर्न सरकारले चासो नदेखाएको आरोपसमेत लगाएका छन्।
यसपटक सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिँदा प्रधानमन्त्री कार्यालयले गिरफ्तारीमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएको प्रसंग उल्लेख गर्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
‘प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार सरकारका रूपमा देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले भनेका छन्।
सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै प्रतिक्रिया दिएको विषयलाई सकारात्मक रूपमा लिँदै उनले सरकारको दायित्व त्यतिमा मात्र सीमित हुन नहुने बताएका छन्।
‘सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ?’ भन्दै उनले सरकार र सत्तारूढ दल रास्वपाकाे भूमिकाबारे प्रश्न गरेका छन्।
शर्माले आफूहरू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन र आवश्यक कारबाहीका लागि निश्चित कानुनी विधि रहेको बताएका छन्।
‘संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्ड्याउने गैरकानुनी धन्दा बन्द गरौँ,’ उनले लेखेका छन्।




प्रतिक्रिया