काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धर्मराज केसीले आफ्नो पार्टी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
सनिवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै लमजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद केसीले पत्रकारमाथि भएको धरपकड र सञ्चारगृहमा गरिएको घेराबन्दी उचित नभएको बताएका हुन् ।
उनले कुनै व्यक्ति वा संस्थामाथि आरोप लागेको अवस्थामा निष्पक्ष छानबिन गरेर दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे । तर, त्यसका नाममा पत्रकारमाथि धरपकड गर्ने र सञ्चारगृहलाई घेराबन्दी गर्ने कार्य गर्न नहुने उनको भनाइ थियो ।
सांसद केसीले शुक्रबार घटना सार्वजनिक भएपछि पार्टीले तत्काल विज्ञप्ति जारी गरी घटनाको विरोध गरेको र पत्रकारको पक्षमा आफ्नो धारणा स्पष्ट पारेको बताए ।
उनले पत्रकारहरूलाई निर्भीक भएर आफ्नो काम गर्न सुझाव दिँदै पार्टीभित्र पनि कुनै कमजोरी देखिए त्यसलाई सच्याउन आफूहरू तयार रहेको बताए । ‘पार्टीमा केही कमजोरी छन् भने हामी सच्याउन तयार छौँ,’ उनले भने ।




प्रतिक्रिया