काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले राज्य संयन्त्रको प्रयोग गरेर सञ्चारमाध्यमको आवाज बन्द गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शिवाकोटीले अदालत, अख्तियार, प्रहरी र मिडियामाथि सरकारले नियन्त्रण कायम गर्न खोज्नु दुःखद भएको टिप्पणी गरे। उनले राज्यका महत्वपूर्ण निकायलाई आफ्नो प्रभावमा राख्ने सरकारी प्रयासले लोकतान्त्रिक अभ्यास र संस्थागत स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए।
‘राज्यका निकाय अदालत, अख्तियार, प्रहरी र मिडियामाथि जुन कन्ट्रोल गर्न खोजिएको छ, त्यो दुःखद छ,’ उनले भने।
शिवाकोटीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नौ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा राखेर अपमान गरिएको आरोप लगाउँदै पत्रकार पक्राउ प्रकरणलाई त्यसैको निरन्तरताका रूपमा व्याख्या गरे।
सरकार सही बाटोमा नहिँडेको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीका सल्लाहकार र प्रहरीको अभिव्यक्तिबीच नै विरोधाभास देखिएको बताए। ‘प्रधानमन्त्रीको प्रमुख सल्लाहकार आदेश पठाउँछ, अर्को सल्लाहकार थाहा छैन भन्छ। त्यस्तै प्रहरी पनि पक्राउ गरेको होइन भन्छ,’ उनले भने।
शिवाकोटीले पत्रकार पक्राउ प्रकरणमा सरकारको भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ आउनुपर्ने धारणा राखे। नेपाली कांग्रेस लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।




प्रतिक्रिया