बालेन सरकारको समर्थनमा छु, तर प्रेसमाथि धरपकड नगरियोस् : ऋषि धमला


काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएको टिप्पणी गरेका छन् ।

सनिवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सञ्चारकर्मीमाथि धरपकड गर्ने, सञ्चारगृहमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्य लोकतन्त्रविरोधी कदम भएको बताए ।

उनले आफू प्रजातन्त्र र लोकतन्त्रका लागि १४ वर्षदेखि पत्रकारितामा सक्रिय रहेको उल्लेख गर्दै २०४६ सालको जनआन्दोलनका क्रममा पत्रकारिता गरेकै कारण सात दिन हिरासतमा बस्नुपरेको स्मरण गरे ।

त्यस्तै, २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिँदासमेत लोकतन्त्रको पक्षमा रिपोर्टर्स क्लबले निरन्तर बहस र छलफल गरेको उनले बताए । लोकतन्त्र र विधिको शासन स्थापनाका लागि क्लबले महत्वपूर्ण योगदान दिएको उनको दाबी थियो ।

धमलाले वर्तमान गृहमन्त्री सुधन गुरुङलाई समेत पहिलोपटक सार्वजनिक रूपमा अघि ल्याउने काम रिपोर्टर्स क्लबले नै गरेको दाबी गरे । उनले नेपाली सञ्चारमाध्यम कसैसँग नझुक्ने बताउँदै पत्रकार र सञ्चारगृहलाई दबाब तथा त्रासमा राख्ने प्रयास स्वीकार्य नहुने धारणा राखे ।

आफू बालेन शाह नेतृत्वको सरकारको समर्थनमा रहेको उल्लेख गर्दै धमलाले सरकारलाई प्रेस स्वतन्त्रतामाथि असर पर्ने गतिविधि नगर्न सुझाव दिए ।

शुक्रबार पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएकोमा उनले धन्यवादसमेत व्यक्त गरे ।