काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। शनिबार बिहान सुरु भएको विवादले उग्ररूप लिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब १०ः३० बजे सुरु भएको विवाद झडपमा परिणत भएको हो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय बालक घाइते भएका छन्। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले घटनाको पुष्टि गरेका छन्।
झडपका क्रममा केही प्रहरी तथा अन्य व्यक्तिहरूसमेत घाइते भएका छन्। प्रदर्शनकारीले अस्पताल भवनबाहिर टायर बालेर प्रदर्शन गर्नुका साथै करिब एक दर्जन मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ।
घटनापछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो। यद्यपि, अहिले स्थिति सामान्यतर्फ उन्मुख रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन्।




प्रतिक्रिया