डोल्पामा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि सेना परिचालन


सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट फोक्सुन्डो तालतर्फ आउने क्रममा नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हराएका हुन्। चक्रवात ‘अर्नब’को प्रभावले हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धारका लागि हेलिकप्टरको समेत माग गरिएको छ।

सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन।

जिल्ला प्रशासनका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन्। प्रतिकूल मौसमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकलाई जोखिमपूर्ण क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।