काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर उठाउन सुरु गरिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले निर्धारित दरअनुसार दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको हो।
नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने र बाहिरिने सबै प्रकारका सवारीसाधनबाट नेपाल राजपत्रमा प्रकाशित वर्गीकरणअनुसार शुल्क लिइनेछ।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनका लागि सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।
सुरुवाती चरणमा दस्तुर भुक्तानीका लागि नगद र क्यूआर कोडको व्यवस्था गरिएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरेर स्वचालित रूपमा शुल्क संकलन गर्ने तयारी भइरहेको आयोजना प्रमुख नेपालले बताएका छन्।
सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीले सवारीसाधनबाट दस्तुर संकलन गर्नेछन्। यसरी उठेको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। दस्तुर संकलनको सञ्चालन तथा अनुगमनको जिम्मेवारी सडक बोर्ड नेपाल र सडक विभागले पाएका छन्।




प्रतिक्रिया