काठमाडौँ । नेपाल-चीन उत्तरी सीमापार व्यापारको परम्परागत नक्सा इतिहासकै ठूलो परिर्वतनको मोडमा पुगेको छ। वर्षौंदेखि तातोपानी र रसुवागढी नाकाका साँघुरा सडक, निरन्तरको पहिरो र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको सास्ती झेलिरहेका व्यापारीहरूका लागि मुस्ताङस्थित कोरला नाका वैकल्पिक व्यापारिक केन्द्रका रूपमा उदाएको छ।
अघिल्लो वर्षको भदौ ३१ गतेदेखि मात्रै पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाले चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै जुन व्यापारिक फड्को मारेको छ, त्यसले नेपालको उत्तरी व्यापार संरचनामा ठूलो रणनीतिक हेरफेरको सङ्केत गरेको छ।
मुस्ताङ भन्सार कार्यालयले चालु आवका लागि कुल ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको थियो। तर, साउनदेखि कात्तिक १३ गतेसम्मको साढे तीन महिना नबित्दै भन्सारले लक्ष्यलाई निकै पछाडि छाड्दै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जनाएको छ। यो वार्षिक लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी हो।
भन्सार कार्यालयका अनुसार यस अवधिमा कोरला नाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरको सामग्री चीनतर्फ निकासी भएको छ।
गत वर्षभरि ६ अर्ब ९२ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको मुस्ताङ भन्सारले यो वर्ष असोज र कात्तिकको मुख्य व्यापारिक मौसम (दशैँ-तिहार) मा अभूतपूर्व चाप सामना गर्यो। दशैंअघि (असोज २७ सम्म) ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व उठेकामा दशैंपछिको १५ दिनमै थप ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
कोरला नाका परम्परागत कपडा वा खाद्यान्न आयातमा मात्र सीमित रहेन, यो नेपालमा भित्रिने विद्युतीय सवारीसाधन (EV) को सबैभन्दा ठूलो प्रवेशद्वार बन्न पुगेको छ।
साढे तीन महिनाको अवधिमा विभिन्न कम्पनीका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधन कोरला नाका भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
असोज २७ सम्म ३ हजार ९२६ वटा ईभी नेपाल भित्रिएकामा दशैंपछिको १५ दिनमा मात्रै थप २ हजार ५७५ वटा ईभी जाँचपास भएका छन्।
चीनबाट तयारी पोसाक, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल र चाडपर्व लक्षित सामग्रीका साथै हजारौँको सङ्ख्यामा विद्युतीय सवारीहरू नेपाल भित्रिनुले कोरला नाकाको व्यावसायिक महत्त्व र सडक पहुँचको सहजतालाई पुष्टि गर्छ।
रसुवागढी र तातोपानी नाका प्राकृतिक विपद् (विशेषगरी भोटेकोशीको बाढी र पहिरो) का कारण बन्द भएपछि सयौँ कन्टेनरहरूले आफ्नो मार्ग परिवर्तन गरी कोरला रोजे। रसुवा र तातोपानीको कठिन भौगोलिक बनोटको तुलनामा कोरला नाकातर्फको समथर भूगोल र सहज पहुँचले व्यापारीहरूलाई आकर्षित गरेको छ।
एकाएक व्यापारिक चाप ह्वात्तै बढे पनि मुस्ताङ भन्सारको मौजुदा भौतिक पूर्वाधार, सुक्खा बन्दरगाह र सडक स्तरोन्नतिको काम अझै सुस्त छ। अल्पकालीन रूपमा राजस्व र आयात बढे पनि दीर्घकालीन रूपमा उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसममा व्यापार निरन्तर राख्नु चुनौतीपूर्ण देखिन्छ।
सरकारले यदि कोरला नाकामा आधुनिक सुक्खा बन्दरगाह, भन्सार प्रविधिको विस्तार र जोमसोम-कोरला सडक खण्डको स्थायी स्तरोन्नतिमा तत्काल ध्यान दिने हो भने यो नाका मौसमी विकल्प मात्र नभई नेपालको अर्थतन्त्रको बलियो मेरुदण्ड बन्ने पक्का छ।




प्रतिक्रिया