एक्सनमा उत्रिए मन्त्री लम्साल : सबै अलपत्र निर्माण ठेक्का तोड्दै नयाँ टेन्डर गरिने


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका देशभरका निर्माण आयोजनाका ठेक्का सम्झौता तोड्ने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा मातहतका कार्यालयहरूको कार्यप्रगति समीक्षा गर्दै मन्त्री लम्सालले काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता प्रचलित कानुनअनुसार तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्।

सडक विभागअन्तर्गतका रुग्ण ठेक्काको नियमित अनुगमन गरी विवरण अद्यावधिक गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। ठेक्का तोडिएपछि आवश्यक बजेट सुनिश्चित गरी नयाँ बोलपत्र आह्वान गर्ने तयारी गर्नसमेत भनिएको छ।

यसैगरी, सडक निर्माणमा कालोपत्रेको विकल्पका रूपमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने नीति अघि बढाइएको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अब सिमेन्ट कंक्रिट सडक निर्माणमा जोड दिइने मन्त्रालयले जनाएको छ।

यसका लागि सडक विभागलाई आवश्यक डिजाइन परिमार्जन गर्न निर्देशन दिइएको छ।

त्यस्तै, ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण हुने पुलमा ठेकेदारहरूले बोलपत्र पेस गर्न नचाहेको समस्या समाधान गर्न विद्यमान मापदण्ड संशोधन गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ।