चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ । सोमबार त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा चितवन राइनोजलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो प्रभाव कायम राखेको हो ।

चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडे । उनले २१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले २५, अविजित शेरफन रदरफोर्डले २१, आरिफ शेखले २० र विनोद भण्डारीले ११ रनको योगदान दिए ।

चितवनका बलर रञ्जित कुमारले तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।

चितवनका कप्तान रवि बोपाराले टोलीको इनिङ सम्हाल्ने प्रयास गर्दै सर्वाधिक ४९ रन बनाए । उनले ४० बलको सामना गर्दा तीन चौका र दुई छक्का प्रहार गरे । तर, अर्धशतक बनाउन एक रन बाँकी छँदै उनी आउट भए । स्कट कुगेलेइनको बलमा छक्का प्रहार गर्ने प्रयास गर्दा बोपारा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

चितवनको सुरुआत भने कमजोर रह्यो । पावर प्लेमै ओपनर देव खनाल सात र अर्जुन साउद १५ रनमा आउट भएका थिए । त्यसपछि आएका डेविड मलानले पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । पहिलो खेलमा अर्धशतक बनाएका मलानले यसपटक १७ बलमा एक चौकासहित १६ रन मात्रै जोड्न सके । उनी दीपेन्द्रको बलमा क्याच आउट भए ।

मलान र बोपाराबीच ३५ रनको साझेदारी भएको थियो । यसबाहेक विवेक यादव र शिकन्दर राजाले समान १५ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट हात पारे ।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणमा आफ्नो दोस्रो जित हासिल गरेको छ भने चितवन राइनोजले १२९ रनको सामान्य योगफलको रक्षा गर्न सकेन ।