सुनसरी, १७ कात्तिक । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ। उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ।
लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्गाइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ। पुर्ख्यौली रूपमा खेती किसानी गर्दै आएका कार्कीले १५ वर्षअघि रहरले सुरु गरेको सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ। पुर्ख्यौली घर तेह्रथुम भए पनि उनको परिवार बसाइँ सरेर सुनसरी आएको थियो। उनले धरानमा प्रवेशिकासम्मको अध्ययन गरेका थिए। ‘लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन। खेती किसानी गरियो, धान, मकै लगाइयो’, कार्कीले भने।
झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारीखेती देखेपछि आफूलाई पनि रहर जागेको उनले बताए। ‘त्यहाँ काकाको सुपारी खेती देखे। अन्य किसानले गरेको खेती देखेर प्रेरित भए’, उनले भने। आजभन्दा १५ वर्षअघि १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेँ। चार, पाँच वर्षपछि फल्न थाल्यो। त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै गएँ र खेती विस्तार गरेँ। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन्। सुरुमा रोपिएका बिरुवाले हरेक वर्ष फल दिँदै आएको छ भने बाँकी बिरुवा हुर्किरहेका छन्। सुरुमा रोपिएका बिरुवाबाट हाल उनले वार्षिक रु एक लाखभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आएका छन्।
‘यहाँका सबै बिरुवाले एक, दुई वर्षभित्र फल दिन थाल्छ। रहर लागेर सुरु गरेको व्यवसाय राम्रो भएको छ। खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ’, उनले भने। सुनसरीमा पनि सुपारी खेती हुन्छ भन्ने धेरैलाई जानकारी छैन। पानी नजम्ने जमिन भए जुनसुकै ठाउँमा पनि सुपारीखेती गर्न सकिने उन बताउँछन्। सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उनको भनाइ छ।
हरेक वर्ष व्यापारी आफैँ बगानमै आएर बारी ठेक्कामा लिन्छन् र सुपारी पाकेपछि आफैँ आएर टिपेर लैजान्छन्। कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी रु ७० का दरले थोरैथोरै बिक्री गर्छु। ‘प्रायः व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्’, उनले भने।
सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उनको अनुभव छ। वर्षमा एकपटक मल लगाउनुपर्छ। सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उनी बताउँछन्। चुन र मललगायत खेतीमा वार्षिक करिब रु २० हजार खर्च हुने गरेको कार्कीले बताए।
धान र मकैखेतीको तुलनामा सुपारी खेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ। ‘एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि रु एक लाख आम्दानी गर्न सकिँदैन। सुपारी खेतीबाट भने राम्रो आम्दानी हुन्छ’, उनले भने।
उनले बगानको रेखदेखका लागि तलब दिएर एक जना कामदार राखेका छन्। बाँकी काम भने उनी आफैँ र श्रीमती डम्बरकुमारी कार्कीले सहायता गर्छिन्। सुपारी खेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए। यो खेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवा यसमा लाग्दा झनै राम्रो हुने सुझाव दिन्छन्।
‘व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ। धेरै मेहनत पनि गर्नुपर्दैन’, उनले भने। कार्कीलाई आफ्नो बगानमा काम गर्न उत्तिकै जाँगर चल्छ। सुपारीखेती आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधार बनेको उनको भनाइ छ। ‘साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ’, उनले भने।




प्रतिक्रिया