माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मोरङस्थित रिजाल एन्ड कम्पनीको नाममा रहेको ६० रोपनी जग्गा छुट दिने क्रममा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो । आयोगले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ ।

मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री डा. मीनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार मन्त्री डम्मर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेलाई प्रतिवादी बनाइएको छ । माधव घिमिरेकी छोरी कमला घिमिरेलाई समेत प्रतिवादी कायम गरिएको छ ।

त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटाविरुद्ध पनि मुद्दा दायर भएको छ । तत्कालीन शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादीको सूचीमा छन् ।

यसैगरी भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीसहित मालपोत कार्यालयका विभिन्न कर्मचारीलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले जग्गा छुट दिने प्रक्रियामा संलग्न रहेको आरोपमा विभिन्न पदमा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिसहित कुल ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको हो ।