काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुगेका छन् । भारत सरकारले उनलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेपछि उनी कार्यभार सम्हाल्न नेपाल आएका हुन् ।
भारतले दलेलाको नाम राजदूतका लागि प्रस्ताव गरेको थियो । नेपाल सरकारले उनको नियुक्तिका लागि सहमति (एग्रिमो) दिएपछि भारतले औपचारिक रूपमा नियुक्त गरी नेपाल पठाएको हो ।
यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि उनको स्थानमा दलेलालाई नियुक्त गरिएको हो ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलासँग विभिन्न देशमा कूटनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ । उनले इजरायलबाट आफ्नो कूटनीतिक करिअर सुरु गरेका थिए ।
उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा रहेर काम गरिसकेका छन् । उनी भुटानका लागि भारतीय राजदूतसमेत भइसकेका छन् ।
त्यसैगरी, सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा कार्यरत थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नयाँ राजदूत नेपाल पठाएको हो ।




प्रतिक्रिया