काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेभित्र असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।
उमा भुजेल नेतृत्वको नेकपासँग भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपालले विभिन्न कम्युनिस्ट घटकहरूबीच एकता अपरिहार्य रहेको बताए ।
उनले एमालेभित्र विभिन्न कारणले असन्तुष्टि र उकुसमुकुसमा रहेका नेता तथा कार्यकर्तालाई समेत एकतामा सहभागी हुन आग्रह गरे । एमालेबाट असन्तुष्ट रहेकाहरूलाई कसरी एकतामा ल्याउने भन्ने विषयमा समेत छलफल हुनुपर्ने उनको भनाइ थियो ।
नेपालले विप्लव नेतृत्वको नेकपासहित मोहनविक्रम सिंह र मोहन वैद्य नेतृत्वका कम्युनिस्ट घटकहरूलाई पनि एकताबद्ध हुन आह्वान गरे ।
त्यसक्रममा उनले विप्लव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर समाजवादी मोर्चा गठन गरेको र त्यसैमार्फत देशव्यापी अभियान सञ्चालन गरिएको प्रसंग पनि स्मरण गराए ।
राष्ट्रियता, संविधान, गणतन्त्र, समावेशिताको नीति र जनअधिकारको संरक्षणका लागि विभिन्न राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया