वाणिज्य बैंकहरूकै नाफामा ४५ प्रतिशतको उछाल: ब्याज आम्दानी सुस्त, कर्जा असुलीले दिलायो राहत


काठमाडौँ। सुस्त अर्थतन्त्रका बीच देशका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/२०८४ को पहिलो त्रैमासमै वित्तीय स्थितिमा उल्लेख्य सुधार दर्ता गराएका छन्। सञ्चालनमा रहेका ‘क’ वर्गका २० वाणिज्य बैंकहरूले पहिलो तीन महिनामा खुद नाफालाई ४५.५९ प्रतिशतले बढाउँदै कुल १९ अर्ब १५ करोड रुपैयाँ पुर्‍याएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको नाफा १३ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो।

समीक्ष अवधिमा २० मध्ये १६ बैंकहरू आफ्नो खुद नाफा बढाउन सफल भएका छन् भने एउटा बैंक घाटाको स्थितिबाट नाफामा फर्किएको छ, ३ वटा बैंकले मात्र नाफामा गिरावट व्यहोरेका छन्।

बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्दा नाफामा आएको यो उछालको मुख्य स्रोत नियमित ब्याज आम्दानी नभई प्रोभिजनिङ रकम घट्नु देखिएको छ। समीक्ष अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी भने जम्मा ०.९७ प्रतिशतले मात्र बढेर ४९ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

ब्याज आम्दानीको वृद्धि सुस्त भए पनि अघिल्ला वर्षहरूमा छुट्याइएको खराब कर्जा असुलीमा आएको सुधारले बैंकहरूलाई ठूलो राहत दिएको छ। कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइने खर्च समीक्ष अवधिमा ४४.९ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो त्रैमासमा यस प्रयोजनका लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्याएका बैंकहरूले यस वर्ष ११ अर्ब ९ करोड रुपैयाँ मात्र छुट्याएका छन्। यही प्रोभिजनिङ अर्थात् खर्च कटौतीले रकम घट्नु नै नाफा वृद्धिको मुख्य आधार बनेको हो।

कमजोर कर्जा प्रवाहका बीच पनि खुद नाफाका हिसाबले नबिल बैंक शीर्ष स्थानमा कायम छ। नबिलले समीक्ष अवधिमा २ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १७५.५३ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। एभरेस्ट बैंकले १ अर्ब २५ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा दर्ता गरेका छन्।

नाफाको प्रतिशत वृद्धिका आधारमा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले अभूतपूर्व छलाङ मारेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५१ लाख रुपैयाँ मात्र नाफा कमाएको एनआईएमबीले यस वर्ष २,५१९.५१ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब १८ करोड रुपैयाँ नाफा पुर्‍याएको छ।

त्यसैगरी कृषि विकास बैंकको नाफा पनि १,८१५.७९ प्रतिशतले बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंक (१६२.७६%), सानिमा बैंक (१३१.१५%) र लक्ष्मी सनराइज बैंक (९६.६३%) ले पनि आफ्नो नाफामा उच्च सुधार गरेका छन्।

विगतमा खराब कर्जाको मार खेपेको सिटिजन्स बैंक इन्टरनेसनलले यसपटक वित्तीय स्थितिमा राम्रो सुधार गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स यस वर्ष १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाउँदै नाफाको लयमा फर्किएको छ।

सबै बैंकको चित्र सुखद भने छैन। समीक्ष अवधिमा ३ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ। प्राइम कमर्सियल बैंकको नाफा ५.६२ प्रतिशत, हिमालयन बैंकको ६.८४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३ प्रतिशतले ओरालो लागेको छ।