परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री


काभ्रे । तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्।

पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्। परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गर्नुभएको फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ।

९ वर्षअघि स्वदेश फर्किएका घिमिरेले सुरुका दुई–तीन वर्ष कुनै काम गर्नुभएन । तर, लामो समय काम गरेर बिताएका उनलाई घरमै निस्क्रिय भएर बस्न सहज भएन। आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचसहित उनले कृषि व्यवसाय रोजे। यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो।

पाँच वर्षअघि कृषि व्यवसाय सुरु गर्नुभएका घिमिरेले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गरे। तरकारीखेतीबाट अनुभव बटुलेका उनले पछि फूलखेतीको सम्भावना देखे। दसैँ र तिहारजस्ता पर्वमा सयपत्री फूलको माग हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोचअनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरेको उनले बताए।

पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उनलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो। सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पुर्‍याएका छन् । उनले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाएका छन्।

फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिनादेखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने घिमिरेले बताए। दसैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आएका छन्।

फूलको मौसम सकिएपछि उनी खेतबारी खाली राख्दैनन् । सयपत्री फूलको बिक्रीको समय सकिएपछि अन्य सागसब्जी तथा तरकारी लगाउने गर्छन्। एउटै खेतीमा मात्र निर्भर नभई वर्षभरि जमिनको उपयोग गर्ने उनको अभ्यास छ।

घिमिरेको फूलखेतीले उनलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन्। फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ । व्यावसायिक खेती विस्तारसँगै कामदारको आवश्यकता पनि बढेको उनले बताए।

गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गर्नुभएका घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गरेका थिए। यस वर्ष पनि फूलको उत्पादन राम्रो भएको उनले बताए। तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उनको अनुभव छ। बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उनी अहिले फूल बिक्रीको उचित समय पर्खिरहेका छन्।

यस वर्ष तिहार केही ढिला परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उनको अनुमान छ। उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशासहित बजारको अवस्था पर्खिरहेको उनले बताए। यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उनको अपेक्षा छ।

“उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो मूल्य आउँछ कि भन्ने आशा छ”, किसान घिमिरेले भने। उनका अनुसार किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो।

फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन। पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुनसक्ने जोखिम रहने उनको अनुभव छ। किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुनसके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उनले बताए।

स्वदेशमै फूल उत्पादन भइरहेका बेला विदेशबाट आयात हुने गरेकोप्रति उहाँको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उनले बताए। विशेषगरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउन सके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने घिमिरेको अपेक्षा छ।

“कहिलेकाहीँ सन्तुष्ट छु, कहिलेकाहीँ असन्तुष्ट पनि हुन्छु । नेपालका किसानलाई सम्बन्धित निकायले पर्याप्त ध्यान दिनुपर्छ । स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उनले भने।

विदेशमा लामो समय बिताएर फर्किएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाएका छन्। उनका लागि फूलखेती आम्दानीको माध्यममात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसरसमेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उनले वर्षभरि खेतबारीलाई व्यस्त राखेका छन्।

कृषि व्यवसायलाई निरन्तरता दिँदै आएका घिमिरे अहिले उत्पादनसँगै बजारको अवस्थालाई पनि उत्तिकै महत्त्व दिन्छन्। मिहिनेत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउनसके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उनको विश्वास छ । स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्नसके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्न सक्ने उनको अनुभव छ। रासस