मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : नेपाल–भारत साझेदारी थप उचाइमा पुर्‍याउने प्रतिबद्धता


१९ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल र भारतले द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

भ्रमणपछि जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्री र उच्च अधिकारीसँग भएका भेटवार्तामा आपसी साझेदारीका विविध विषयमा छलफल भएको उल्लेख छ।

बिहीबार प्रधानमन्त्री शाहसँग भएको शिष्टाचार भेटमा मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेका थिए। साथै, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका क्रममा अघि बढाउन सकिने पहल र सम्भावित उपलब्धिबारे पनि छलफल भएको थियो।

भ्रमणका क्रममा मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै भेट गरेका थिए। परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्तासमेत भएको थियो।

छलफलमा व्यापार, विकास साझेदारी, जलविद्युत्, ऊर्जा, सडक तथा अन्य भौतिक पूर्वाधार, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, स्टार्टअप, डिजिटल कनेक्टिभिटी, कृत्रिम बुद्धिमत्ता (एआई) र खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि विचार आदानप्रदान भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

मिश्रीले नेपाल–भारत संसदीय मैत्री समूह तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य सांसदहरूसँग पनि छलफल गरेका थिए।

यसैबीच, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति नेपाली पक्षले आभार व्यक्त गरेको छ।

दुवै पक्षले परम्परागत सहकार्यका क्षेत्रमा भइरहेको प्रगतिप्रति सन्तुष्टि जनाउँदै नेपाल–भारत साझेदारीलाई आगामी दिनमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।