‘पार्टीले आईजीपी, डीएसपी र इन्स्पेक्टर फेर भनेर भन्दैन’ : रवि लामिछाने


१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरीका आईजीपी, डीएसपी र इन्स्पेक्टर परिवर्तन गर्न पार्टीले सरकारलाई नभन्ने बताएका छन्।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायमा हुने नियुक्ति तथा हेरफेर सरकारको क्षेत्राधिकार भएको स्पष्ट पारे।

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने उनको भनाइ छ।

‘पार्टीले आईजीपी, डीएसपी, इन्स्पेक्टर फेर भनेर विल्कुल भन्दैन,’ लामिछानेले भने, ‘त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हो।’

उनले आईजीपी परिवर्तनको विषय संवेदनशील रहेकाले सरकारले उपयुक्त समयमा निर्णयको कारण सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।

साथै, पार्टी र सरकारबीच तालमेल नमिलेको भन्ने चर्चामा कुनै सत्यता नरहेको पनि उनले बताए।