काठमाडौं, २० कात्तिक । काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तिवनस्थित भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित जग्गामा डोजर चलाउने भएको छ । प्राधिकरण स्रोतका अनुसार आज (शुक्रबार) आयोजनाको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरुमा डोजर चलाउन लागिएको हो ।
उक्त आयोजना क्षेत्रमा वर्षौंदेखि जग्गा सार्वजनिक जग्गा अतिक्रमण गरी कार वासिङ्सेन्टर, हाउजिङलगायतका अन्य व्यपार व्यवसाय अवैध रुपमा सञ्चालन भइरहेको छ ।
अवैध रुपमा बनाइएका संरचनाबाट अनुचित लाभ लिने र सार्वजनिक जग्गा हडपेर बस्नेहरुको विरुद्ध प्राधिकरणको भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना निर्मम भएर एक्सनमा उत्रिन लागेको हो । स्रोतका अनुसार आयोजना क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरी भूमाफियाहरुको करोडौंको लाभ लिइरहेका छन् ।
यसरी सरकारी सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउन र सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई उक्त जग्गा खाली गर्नका लागि पटक-पटक सूचना प्रकाशन गरे पनि अटेर गरेपछि अन्ततः डोजर चलाउन लागिएको हो । प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य नियुक्त भएसँगै सार्वजनिक जग्गा संरक्षणको कार्य तीब्र रुपमा भइरहेको स्रोतको दाबी छ । प्राधिकरणका विकास आयुक्त शाक्य प्रधानमन्त्री बालेन्द्र शाहको विश्वास पात्र मानिन्छन् । भेल्पा आयोजनामा भूमाफियाको अतिक्रमणविरुद्ध दोस्रो पटक अप्रेशन चलाउन लागिएको हो ।
साथै, प्राधिकरणको भेल्पा आयोजना क्षेत्रमा लामो समयदेखि जग्गा धनी प्रमाण पुर्जा नपाएका जग्गा धनीहरुलाई आजै पुर्जा वितरणको कार्यक्रम पनि रहेको बताइएको छ । करिब १२ वर्षसम्म ३० प्रतिशतमात्रै प्रगति भएको थियो । प्राधिकरणको उक्त रुग्न आयोजनाको प्रमुखमा घनश्याम पौडेल नियुक्त भएपछि कामले गति लिन थालेको पाइएको छ ।





प्रतिक्रिया